FAQs Complain Problems

संक्षिप्त परिचय

शारदा नगरपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार कर्णाली प्रदेश मा पर्दछ । शारदा नगरपालिका विश्व मानचित्रमा ८२०२’४०” देखि ८२१६’३६” पूर्वी देशान्तरसम्म र २८१८’५१” देखि २८२७’४४” उत्तरी आक्षांससम्म फैलिएर शारदा नदीको काखमा प्राकृतिक मनोरम संरचना सहित पहाडी क्षेत्रमा अवस्थित छ  । १९८.३४ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस शारदा नगरपालिकाको उत्तरमा सिद्बकुमाख गाउँपालिका पश्चिमतर्फ बनगाड कुपिन्डे नगरपालिका, दक्षिणमा छत्रेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिका र पूर्वमा छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिका रहेका छन् । 
नेपाल सरकारको मिति २०७१ बैशाख २५ गतेको निर्णयबाट सल्यान जिल्लाको तत्कालिन ७ गा.वि.स खलंगा, मार्के, ह्विल्चा, कजेरी, सजैवाल टाकुरा, स्यानीखाल र डाँडागाउँलाई मिलाएर घोषणा भई २०७१/०२/०२ गतेबाट औपचारिक रुपमा स्थापित तथा सञ्चालनमा आएको हो । यस नगरपालिकाको नामाकरण यस नगरपालिका भइ बग्ने शारदा नदिबाट गरिएको हो । शारदा नदी शारदा नगरपालिकाको मात्र नभइ सल्यान जिल्लाको पनि प्रमुख नदीको रुपमा मानिन्छ । यस नदिलाई आर्थिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार शारदा नगरपालिकाको जनसंख्या ३४,६६३ रहेको छ जस मध्ये पुरुष ४६.४३ प्रतिशत (१६,३८८ जना) र महिला ५३.५७ प्रतिशत (१८,२७५ जना) रहेको यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षेत्री जाति २१,१२७ जना (६२.६४ प्रतिशत), दोस्रोमा सन्यासी/दशनामी २७६१ जना (८.१९ प्रतिशत) र तेस्रोमा कामी २५८६ (७.६७ प्रतिशत) हरुको बसोबास रहेको छ । शैक्षिक हिसावमा यस नगरपालिकामा सामुदायिक र संस्थागत गरी जम्मा ६३ वटा शिक्षण संस्थाहरु संचालित छन् । 
यस नगरपालिकामा औषत पारिवारीक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार व्यवसाय, पशुपालन, साना उद्योग, सेवा, नोकरी हुन् । यसको साथै विकल्पमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमशः आधुनिक कृषि प्रणाली र जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस नगरपालिकामा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था रहेका छन् । प्राविधिक शिक्षा र माथिल्लो तह अध्ययनका लागि यस नगरपालिकाका स्थानीय विद्यार्थीहरु अन्य छिमेकी जिल्लामा जाने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयन तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व जस्तै नयाँ वर्ष, साउने सक्रान्ति, कृष्णजन्माष्टमी, तीज, दशै, तिहार, माघे सक्रान्ति, चैते दशै आदि मनाउने गरिन्छ ।

विस्तृत जानकारिका लागी नगरपालिकाको पार्स्वचित्र हेर्न सक्नु हुन्छ ।